काठमाडौं, फागुन २७ – नेपालमा हिन्दू राजतन्त्रको बहस पुनः चर्चामा आउँदा नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतीय नेताहरूलाई कटाक्ष गरेका छन्। नेपालमा हिन्दू राजा आवश्यक भएको तर्क गरिरहेका भारतीय नेताहरूप्रति प्रतिक्रिया दिँदै पोखरेलले उनीहरूलाई पहिले आफ्नै देशमा हिन्दू महाराजाहरुलाई पुनःस्थापित गर्न सुझाएका छन्। भारतमा नै किन नल्याउने राजा?सामाजिक सञ्जालमार्फत पोखरेलले भारतमा कहिल्यै धार्मिक राज्य स्थापना हुन नसक्ने बताए। उनले ब्रिटिश उपनिवेशको समयमा भारतमा ५५० भन्दा बढी साना–ठूला रियासतहरू रहेको र तीमध्ये अधिकांश हिन्दू राजाहरू रहेको तथ्य उल्लेख गर्दै भारतमा नै हिन्दू राजाहरू पुनःस्थापित गर्ने सम्भावना नदेखिएको तर्क गरे। उनले भारतको संविधानले नै हिन्दू राजाहरूलाई पुनःस्थापित गर्न नदिने बताए। “यदि भारतका नेताहरूलाई हिन्दू राजतन्त्रको यति चिन्ता छ भने उनीहरूले आफ्नै देशमा किन हिन्दू राजा पुनःस्थापित गर्दैनन्? भारतको संविधानले त्यस्तो गर्न दिन्न भने, नेपालको हकमा पनि त्यस्तै होइन र?” उनले प्रश्न गरे। पोखरेलले नेपाल आफ्नो सार्वभौमसत्ता भएको गणतान्त्रिक राष्ट्र भएकाले विदेशी नेताहरूले नेपाललाई राजतन्त्रतर्फ फर्कन सुझाव दिनु उपयुक्त नभएको बताए। “नेपालका राजनीतिक विषयमा बाह्य हस्तक्षेप जरुरी छैन,” उनले उल्लेख गरे।