काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ अनिश्चितकालका लागि स्थगित गरेको छ। पछिल्लो समय राजावादी गतिविधिहरू तीव्र बनेको भन्दै माओवादीले आफ्नो अभियानलाई रोक्ने निर्णय गरेको हो।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकप्रिय नीतिका कारण गणतन्त्रमाथि चुनौती सिर्जना भइरहेको निष्कर्ष निकालेका छन्। प्रचण्ड आजै सिमरा हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
राजसंस्थाको पुनर्स्थापनाका पक्षधरहरूले आक्रामक रूपमा अभियान अघि बढाइरहेको सन्दर्भमा माओवादी केन्द्रले यसबारे गम्भीर छलफल गर्न आइतबार पार्टी पदाधिकारीहरूको बैठक बोलाएको छ। पार्टी नेतृत्वले राजावादीहरूको गतिविधिलाई गम्भीर रूपमा लिइरहेको र आवश्यक कदम चाल्ने बताएको छ।
माओवादीको जागरण अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरु भई विभिन्न जिल्लामा पुगेको थियो। तर, राजावादीहरू थप संगठित हुँदै गएको देखेपछि अभियानलाई केही समयका लागि स्थगित गरिएको हो।
यसैबीच, राजसंस्थाका समर्थकहरूले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको पोखराबाट काठमाडौं फर्कने कार्यक्रमलाई भव्य बनाउन व्यापक तयारी गरिरहेका छन्। उनीहरूले ठुलो जनउपस्थिति सुनिश्चित गर्न विभिन्न माध्यमबाट प्रचार गरिरहेका छन्।