काठमाडौं । रङ्गहरूको महापर्व फागु पूर्णिमा (होली) आजबाट विधिवत रूपमा सुरु भएको छ। परम्परागत रूपमा हरेक वर्ष झैँ यस वर्ष पनि काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याउने कार्य सम्पन्न भएसँगै होली पर्वको सुरुवात भएको छ।
शुक्रबार बिहान ८:३३ बजे साइत अनुसार गद्दी बैठकको दक्षिणतर्फ करिब ३० फिट अग्लो चीर ठड्याइएको हो। चीर ठड्याइएपछि देशभर होली पर्वको माहोल सुरु हुने परम्परा रहिआएको छ।
फागुन शुक्ल अष्टमीका दिन ठड्याइने चीर (रंगीचंगी कपडाले सजाइएको बाँसको तीनतले संरचना) लाई पूजा गरी होली पर्व मनाउने परम्परा छ। चीरलाई विभिन्न रङ्गका कपडाले सजाइन्छ, जसले मेलमिलाप, प्रेम र उत्सवको प्रतीक जनाउँछ।
यसै अवसरमा हनुमानढोका परिसर, डाखचोक र मोहनकाली चोकमा पनि मयल रुखको हाँगामा रंगीचंगी कपडासहित चीर गाडिएको छ।
धार्मिक कथनअनुसार, हिरण्यकश्यपले भगवान् विष्णुभक्त छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकालाई आगोमा बस्न लगाएका थिए। तर, आगोमा बस्दा होलिका आफैं भष्म भइन्, भने प्रह्लाद सकुशल रहे। यही घटनालाई दुष्ट प्रवृत्तिमाथि सत्यको विजयका रूपमा मनाउँदै अबिर छर्केर होली खेल्ने परम्परा बसेको हो।
काठमाडौंसँगै भक्तपुरमा पनि होली पर्वको अनौठो परम्परा छ। भक्तपुरको दत्तात्रय मन्दिर नजिक भैरब मन्दिरमा रहेको लिंगको आकृतिसँग रातो कपडाले ढाकिएको संरचनालाई जुधाएर होली पर्व प्रारम्भ गरिएको छ।
त्यस्तै, फागुन शुक्ल नवमीका दिन भक्तपुरका विभिन्न स्थानहरू— इनाचो, बाचुटोल, जेला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै दत्तात्रय मन्दिर वरिपरि लिंग घुमाइने परम्परा रहेको छ। भक्तपुरमा होली पर्वलाई भगवान भिमसेनसँग सम्बन्धित मानिन्छ।
फागु पूर्णिमाका दिन काठमाडौंको टुँडिखेलमा चीरलाई ढालेर दहन गरिन्छ। चीर जलाएपछि होली पर्वको समापन हुने मान्यता छ। त्यसको भोलिपल्टबाट औपचारिक रूपमा बसन्त ऋतुको आगमन मानिन्छ।