+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

अमेरिकाको नयाँ कर नीतिपछि चीनको कडा चेतावनी: “अन्तिमसम्म लड्न तयार”

चीनले भने अमेरिकाको हरेक कदमको कडा प्रतिक्रिया दिने स्पष्ट सन्देश दिएको छ। अब व्यापार तनाव कति टाढासम्म जानेछ भन्ने हेर्न बाँकी छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चीनमाथि थप १० प्रतिशत कर लगाउने घोषणापछि चीनले कडा प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिका कुनै पनि किसिमको द्वन्द्व चाहन्छ भने, चाहे त्यो व्यापार युद्ध होस् वा अन्य कुनै, चीन अन्तिमसम्म लड्न तयार रहेको चेतावनी दिएका छन्।

अमेरिकाले फेब्रुअरीमा १० प्रतिशत आयात कर लगाइसकेको थियो। तर, एक महिनाभित्रै अर्को १० प्रतिशत करको घोषणा भएपछि चीनले यसलाई अनुचित र द्वन्द्व निम्त्याउने निर्णय भनेको छ।

चिनियाँ प्रवक्ता जियानका अनुसार, “अमेरिकाले फेन्टानिल जस्ता मुद्दाको बहानामा चीनलाई आर्थिक रूपमा कमजोर बनाउने प्रयास गरिरहेको छ। तर, चीन यस्तो ब्ल्याकमेलिङ सहन तयार छैन।”

लिन जियानका अनुसार, “फेन्टानिल संकटको मूल कारण अमेरिका स्वयं हो। यदि अमेरिकाले साँच्चै समाधान चाहन्छ भने, चीनसँग समान व्यवहार गर्दै वार्ता गर्नुपर्छ, धम्की होइन।” चीनले सन् २०१९ मै फेन्टानिललाई लागूऔषधको सूचीमा समावेश गरिसकेको उल्लेख गर्दै उनले अमेरिकाले चीनलाई दोषारोपण गर्न बन्द गर्नुपर्ने बताए।

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार अमेरिकी कंग्रेसको संयुक्त सत्रमा बोल्दै आगामी अप्रिल २ देखि टिट फर ट्याट ट्यारिफ नीति लागू गर्ने घोषणा गरे। उनले भने, “जसले हामीमाथि जति शुल्क लगाउँछ, हामी पनि उनीहरूमाथि त्यति नै शुल्क लगाउनेछौं।”

ट्रम्पले ठट्टा गर्दै भने, “मैले अप्रिल १ देखि नै लागू गर्न चाहेको थिएँ, तर त्यस दिनलाई ‘अप्रिल फूल’ भनेर बुझ्न सकिन्थ्यो। त्यसैले अप्रिल २ बाट लागू गर्दैछु।”

ट्रम्प प्रशासनले अब विदेशी कम्पनीहरूले अमेरिकाभित्र उत्पादन नगर्ने हो भने भारी कर तिर्नुपर्ने नीति ल्याउने संकेत दिएको छ। यस्तो अवस्थामा चीन र अमेरिकाबीचको व्यापार युद्ध अझ चर्किने सम्भावना बढेको विश्लेषकहरूको धारणा छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ