काठमाडौँ -महानगरपालिका वडा नं. ३० द्वारा ४३७ जना वरिष्ठ नागरिकलाई सम्मान गरिएको छ। आज आयोजित विशेष कार्यक्रममा उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष दलबहादुर कार्कीले सम्मानपत्र र रुद्राक्षको माला लगाएर सम्मान गरेका हुन्।
यस अवसरमा बोल्दै उपप्रमुख डंगोलले वरिष्ठ नागरिकहरूको योगदानलाई सराहना गर्दै, उनीहरूको सक्रियता र कार्यकुशलता समाजको प्रगति र विकासमा महत्वपूर्ण रहेको बताइन्।

उपप्रमुख डंगोलले भने, “ज्येष्ठ नागरिकहरूको योगदानले हामीलाई प्रोत्साहित गरेको छ र उनीहरूको उर्जाशील कार्यकालका कारण आजको सुख, सुविधा र विकास सम्भव भएको हो।” उनका अनुसार, महानगरपालिका सदैव ज्येष्ठ नागरिकहरूको सम्मानमा प्रतिबद्ध रहेको छ।
वडाध्यक्ष कार्कीले भने, “हाम्रो समाजमा सबै उमेर, वर्ग र समुदायको समान सम्मान र व्यवहार हुनु पर्छ। युवा पुस्ताले ज्येष्ठ नागरिकबाट ज्ञान र अनुभव लिइ अघि बढ्न आवश्यक छ। हामी यसलाई अझ समृद्ध बनाउन चाहन्छौं।”

कार्यक्रममा वरिष्ठ नागरिकहरूले आफूलाई सम्मानित गरिएको अनुभवलाई खुशीका साथ व्यक्त गरे र यसले उनीहरूको मनोबललाई थप बल दिएको बताएका छन्। यस अवसरमा ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई तीर्थाटनमा जानको लागि वडा नं. ३० ले योजना बनाएको पनि जानकारी दिइएको छ।
यस वर्ष, काठमाडौँ महानगरपालिका वडा नं. ३० मा ४१२ जना ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्तासमेत प्राप्त गर्दै आएका छन्। ६८ वर्ष उमेर पुगेका नागरिकलाई सरकारले मासिक ४ हजार रुपैयाँको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ भने, वडा ३० ले मासिक १ हजार रुपैयाँको पोषण भत्ता पनि उपलब्ध गराउँछ।
