+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

लुम्बिनीबाट विश्वलाई शान्तिको सन्देश दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

जनवाच
१ महिना अगाडी

काठमाडौं -फागुन २२ – बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोहको भव्य उद्घाटन गरिएको छ। बुधबार आयोजित एक विशेष कार्यक्रममा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले त्रिपिटक पाठको औपचारिक उद्घाटन गर्दै बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

उपप्रधानमन्त्री सिंहले बुद्धको शिक्षालाई पुनर्जागृत गर्दै लुम्बिनीलाई विश्व शान्ति केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले लुम्बिनी विकास कोषले पूर्वाधार विकाससँगै अन्तर्राष्ट्रिय स्तरका आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव पनि दिए।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले त्रिपिटक पाठले बुद्धका उपदेशलाई विश्वभर फैलाउन मद्दत गर्ने बताए। साथै, उनले नेपाल धर्मनिरपेक्ष राष्ट्र भइसकेको उल्लेख गर्दै बौद्धमार्गी समुदायलाई राज्यले अझ बढी प्राथमिकता दिनुपर्नेमा ध्यानाकर्षण गराए।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लुम्बिनी क्षेत्रको उज्यालोपनको विषयमा चर्चा गर्दै मायादेवी मन्दिर परिसरलाई ‘स्प्रिच्युअल लाइटिङ’ प्रविधिबाट झलमल्ल बनाउने प्रतिबद्धता व्यक्त गरे।

त्रिपिटक पाठ वाचन समारोहमा विभिन्न देशका राजदूत, बौद्ध भिक्षु, लामा, उपासक-उपासिकासहित धार्मिक तथा सरकारी व्यक्तित्वहरूको उपस्थिति थियो। उपप्रधानमन्त्री सिंहले यस अवसरमा त्रिपिटक पाठ संग्रह पुस्तकको विमोचन समेत गरेका थिए।

त्रिपिटक पाठ समारोह आगामी फागुन २५ गतेसम्म जारी रहने छ। बिहान ७:३० बजेदेखि साँझ ५ बजेसम्म मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन गरिने प्रचार संयोजक भिक्षु बिमलो स्थविरले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ