काठमाडौँ । संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आपत्तिजनक प्रश्न गरेको भन्दै दुई युट्युबर पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको छ।
सुनौलो नेपाल युट्युब च्यानलका प्रकाश ओली र युवा मन नेपाल च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिनाका लागि संसद भवन प्रवेशमा रोक लगाइएको संसद सचिवालयले जनाएको छ।
केही दिनअघि प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ भन्दै प्रश्न गरिएको विषय विवादित बनेपछि संसद सचिवालयले महासचिवस्तरीय निर्णयमार्फत कारबाही अघि बढाएको हो।
सत्तारुढ दलका सांसदहरूलाई समेत गलत शब्द प्रयोग गरी प्रश्न गरेको आरोप लगाउँदै सचिवालयले पत्रकारको प्रवेश पास निलम्बन गर्ने निर्णय लिएको हो।