काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) मा घरेलु कामदारको रूपमा कार्यरत एक भारतीय महिलालाई मृत्युदण्ड दिइएको घटनाले अन्तर्राष्ट्रिय समुदायमा चासो बढाएको छ। ३३ वर्षीया शहजादी खानलाई बाल हेरचाहमा लापरबाही गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी) ले दिल्ली उच्च अदालतलाई फेब्रुअरी १५ मा शहजादीको मृत्युदण्ड कार्यान्वयन गरिएको जानकारी दिएको छ। अब उनको अन्त्येष्टि मार्च ५ मा गरिनेछ। शहजादी खान उत्तर प्रदेशकी बासिन्दा थिइन्। उनी युएईको एक परिवारमा घरेलु कामदारका रूपमा कार्यरत थिइन्। बच्चाको मृत्युमा संलग्न भएको आरोपमा उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो। मानव अधिकारकर्मीहरूले शहजादीलाई निष्पक्ष कानुनी सहायता उपलब्ध नगराइएको भन्दै न्यायिक प्रक्रियामै प्रश्न उठाएका छन्। प्रवासी श्रमिकहरूको अधिकारको विषयमा बेलाबेलामा उठ्ने प्रश्न यस घटनापछि पुनः चर्चामा आएको छ। यस घटनाले विदेशमा कार्यरत श्रमिकहरूको सुरक्षाका साथै उनीहरूलाई न्यायिक सहायता उपलब्ध गराउने सरकारहरूको भूमिकालाई लिएर बहस चर्काएको छ।