काठमाडौं, फागुन १८ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन १८) देखि आफ्नो थप सार्वजनिक निष्कासन (एफपीओ) खुला गरेको छ। यससँगै सर्वसाधारण लगानीकर्तालाई संस्थामा लगानी गर्ने अवसर उपलब्ध भएको छ। लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो। यसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ दरमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर बिक्री खुला गरिएको छ। न्यूनतम १० कित्ता देखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। एफपीओमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ। यदि तोकिएको अवधिसम्म सबै सेयर बिक्री नभएमा आवेदन दिने समय चैत ३ गतेसम्म लम्बिनेछ। इच्छुक लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट वा मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार सर्वसाधारणको स्वामित्व ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। यसैबीच, क्रेडिट रेटिङ संस्था इक्रा नेपालले स्वरोजगार लघुवित्तको एफपीओलाई ‘इक्रा इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यो रेटिङ वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।