काठमाडौँ- विश्वकै ठूला बैंकमध्ये एक, सिटी बैंकले एक ग्राहकको खातामा अकस्मात् ८१ ट्रिलियन डलर (नेपाली रुपैयाँ ११.२५९ पद्म) जम्मा गरिदिएको घटना सार्वजनिक भएको छ।
फाइनान्सियल टाइम्सका अनुसार, सन् २०२४ को अप्रिल महिनामा भएको यो त्रुटि बैंकका कर्मचारीको गल्तीका कारण भएको थियो। वास्तविक रूपमा २८० डलर मात्र जम्मा गर्नुपर्नेमा टाइपिङ गल्तीका कारण अकस्मात् अकल्पनीय मात्रामा रकम ट्रान्सफर भएको थियो।
यो गल्ती करिब ९० मिनेटपछि अर्का कर्मचारीले पत्ता लगाएपछि बैंकमा हडकम्प मच्चिएको थियो। गल्ती सुधार गर्न बैंकलाई घण्टौं लाग्यो, तर ती ग्राहकले खातामा आएको रकमबाट एक डलर पनि खर्च गरेका थिएनन्।
बैंकका अनुसार, निगरानी प्रणालीले छिट्टै नै यो त्रुटि पहिचान गरेको र रकम फिर्ता गरिएको थियो। यद्यपि, यो घटनाले बैंकको आन्तरिक प्रणालीमा गम्भीर प्रश्न उठाएको छ।
सिटी बैंकको मातृ कम्पनी सिटी ग्रुपले सञ्चालन गर्ने यो बैंक विश्वका १६० भन्दा बढी देशमा क्रियाशील छ।
गत वर्ष मात्र सिटी बैंकमा १० वटा यस्तै गल्ती हुन लागेको तर जोगिएको घटनाहरू भएको खुलासा भएको थियो। बैंकका सीएफओ मार्क मेसनले यस्ता त्रुटिहरू समाधान गर्न लगानी बढाएको बताएका थिए। तर, पर्याप्त सुधार नगरेको भन्दै अमेरिकाको केन्द्रीय बैंकले सिटी बैंकलाई १३६ मिलियन डलर जरिवाना गराएको थियो। सन् २०२० मा पनि बैंकले ४०० मिलियन डलर जरिवाना तिर्नुपरेको थियो।