काठमाडौँ – नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा सहयोग विस्तार गर्न महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ। नेपाल सरकारका तर्फबाट खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्ली पुगेका छन्, जहाँ उनले भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलसँग औपचारिक समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ।
शनिबार दिल्लीस्थित नेपाली दूतावासमा मन्त्री यादवलाई भव्य स्वागत गरिएको थियो। उनलाई नेपालका लागि भारतीय विदेश मन्त्रालयका प्रोटोकल अधिकारी तुसारअंशु शर्मा, नेपालका राजदूत शंकरप्रसाद शर्मा तथा उच्च अधिकारीहरूले स्वागत गरेका थिए।
खानेपानी र सरसफाइ विकासलाई प्राथमिकतामा राख्दै नेपाल सरकारले भारतसँग सहकार्य विस्तार गर्न लागेको हो। समझौताअनुसार, नेपालमा खानेपानी स्रोतको विकास, स्वच्छ पानीको पहुँच विस्तार, सरसफाइ प्रवर्द्धन र फोहोर व्यवस्थापनमा ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउन र दुवै देशका नागरिकलाई प्रत्यक्ष लाभ दिलाउने उद्देश्यका साथ हस्ताक्षर गर्न लागिएको यो सम्झौता रणनीतिक हिसाबले महत्वपूर्ण मानिएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री यादवको भारत भ्रमणलाई स्वीकृति दिएको थियो।
मन्त्री यादव सोमबार समझदारीपत्रमा हस्ताक्षर गरेपछि मङ्गलबार स्वदेश फर्किने कार्यक्रम रहेको छ। यस सम्झौताले नेपालमा स्वच्छ खानेपानी र आधुनिक सरसफाइ व्यवस्थापनको लक्ष्य हासिल गर्न नयाँ दिशा तय गर्ने विश्वास गरिएको छ।