+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

सुरक्षित र दिगो संरचना: भोलिको नेपालका लागि आवश्यक आधार: मन्त्री दाहाल

जनवाच
१ महिना अगाडी

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मुलुकको समृद्धि सुनिश्चित गर्न अब बन्ने सबै संरचना सुरक्षित, दिगो र उच्च प्रतिफल दिने गरी निर्माण गर्नुपर्ने बताएका छन्। ठूलो लगानी र समय खर्च हुने संरचनाहरू अल्पकालीन सोचका आधारमा बनाउँदा दीर्घकालीन फाइदा नहुने भएकाले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने उनको धारणा छ।

काठमाडौंमा सम्पन्न तीनदिने ‘नेशनल घर निर्माण फेष्ट’ को समापन समारोहमा बोल्दै मन्त्री दाहालले नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देशमा निर्माण हुने संरचनाहरूमा उच्च सतर्कता अपनाउनुपर्ने बताए। ‘संरचना निर्माणमा लागत मात्रै होइन, गुणस्तर र सुरक्षामा पनि ध्यान दिनुपर्छ। भवन निर्माण संहिता पालना नगर्दा विपत्तिका बेलामा ठूलो क्षति व्यहोर्नुपर्छ,’ उनले भने।

उनका अनुसार, सरकारी तथा सार्वजनिक संरचनासँगै निजी, आवासीय, सामुदायिक तथा सबै प्रकारका भवनहरूमा विश्वस्तरीय प्रविधि तथा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग अपरिहार्य छ। ‘अब हामीले जस्तोसुकै निर्माण गर्दा पनि दिगोपनलाई प्राथमिकता दिनुपर्छ। अल्पकालीन सोचले दीर्घकालीन संकट निम्त्याउन सक्छ,’ मन्त्री दाहालले जोड दिए।

कार्यक्रममा बागमती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाई, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी लगायतले पनि सुरक्षित निर्माणका लागि नीतिगत सुधार आवश्यक रहेको बताए।

तीन दिनसम्म चलेको फेस्टमा १० हजारभन्दा बढी सहभागीले विभिन्न निर्माणसम्बन्धी परामर्श लिएका थिए। साथै, विभिन्न घरका ‘मोडल’हरूबीच प्रतियोगिता गराइएको थियो, जसमा उत्कृष्ट तीनलाई नगद पुरस्कार प्रदान गरिएको आयोजक संस्थाका महेश तिमल्सिनाले जानकारी दिए।

नेपालको भौगोलिक तथा प्राकृतिक चुनौतीलाई ध्यानमा राख्दै अब बन्ने संरचनाहरू दीर्घकालीन सोचका साथ निर्माण गरिए मात्र भोलिको नेपाल सुरक्षित, समृद्ध र सवल बन्न सक्नेमा विज्ञहरू एकमत देखिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ