नेपाली सेनाले लामो समयदेखि विभिन्न राष्ट्रसंघीय शान्ति मिसनहरूमा उत्कृष्ट योगदान दिँदै आएको छ। कंगो मिसनमा नेपाली शान्ति सैनिकको नयाँ टोली पठाउने कार्य निरन्तर जारी रहेको छ।
काठमाडौँ, फागुन १६ – संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत कंगोमा कार्यरत नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ खटिन जाने श्री चण्डीदल गण ३१औं डफ्फाका १६२ जना सैनिकहरूको अन्तिम टोली सेनानी रत्न बहादुर श्रेष्ठको नेतृत्वमा कंगो प्रस्थान गरेको हो। उनीहरू यूएन चार्टर्ड विमानमार्फत आज मिसन इलाकातर्फ लागेको नेपाली सेनाले जनाएको छ।
हाल कंगोस्थित युनाइटेड नेसन्स अर्गनाइजेसन स्टाबिलाइजेसन मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगो (MONUSCO) मा १,१४९ जना नेपाली शान्ति सैनिक तैनाथ छन्। जसमा एक गण, दुई गुल्म तथा स्टाफ र सैनिक पर्यवेक्षकहरू कार्यरत छन्।