काठमाडौं, फागुन १७ । काठमाडौं महानगरपालिकामा कार्यकारी अधिकृत नपठाएको विषयलाई लिएर मेयर बालेन शाह र एमाले महासचिव शंकर पोखरेलबीच सामाजिक सञ्जालमै तिखो जुहारी चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बालेनले सरकारको नीति र व्यवहारप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए, “प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिंडेको मान्छे!” बालेनको यो अभिव्यक्तिपछि एमाले महासचिव पोखरेलले तत्कालै काउन्टर प्रतिक्रिया दिएका छन्। उनले महानगरपालिकामा कार्यकारी अधिकृत जान नचाहनुको कारण खोज्नुपर्ने भन्दै बालेनकै नेतृत्वप्रति प्रश्न उठाएका छन्। पोखरेलले लेखेका छन्, “किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान चाहिरहेका छैनन्? यसमा गम्भीर ध्यान जानु जरुरी छ।” महासचिव पोखरेलले कार्यकारी अधिकृतको अभावमा सेवा प्रवाहमा अवरोध हुन नहुने भन्दै सरकारले विशेष व्यवस्था गरेर भए पनि छिट्टै कार्यकारी अधिकृत पठाउनु पर्ने बताएका छन्। काठमाडौं महानगरपालिकामा कर्मचारी व्यवस्थापनका विषयमा पटक–पटक विवाद उठ्दै आएको छ। बालेन नेतृत्वको महानगरले विभिन्न क्षेत्रमा कडा नीति अवलम्बन गरेपछि प्रशासनिक समायोजन चुनौतीपूर्ण बन्न पुगेको छ। अब सरकारले कस्तो कदम चाल्छ भन्ने चासो बढेको छ।