काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समृद्धि यात्रालाई अघि बढाउन पूर्वाधार विकासलाई गति दिने बताएका छन्। विशेष गरी ग्रामीण क्षेत्रलाई शहरसँग जोड्ने, उत्पादन र बजारबीच सहज पहुँच बनाउने तथा अन्तरदेशीय सम्पर्क विस्तार गर्ने योजनालाई सरकारले प्राथमिकता दिने उनको भनाइ छ।
शुक्रबार नुवाकोटमा एकै दिन दुईवटा मोटरेबल पुलको उद्घाटन गर्दै मन्त्री दाहालले विकास निर्माणको माग पनि आवश्यकताको आधारमा हुनुपर्ने बताए। उनले गुणस्तरहिन निर्माण कार्य र ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पार्दै तीनै तहका सरकार तथा नागरिकको सहकार्यले मात्र दिगो विकास सम्भव हुने उल्लेख गरे।
उनका अनुसार गल्छी-मैलुङ-स्याफ्रुबेँसी सडक, पासाङल्हामु राजमार्ग, मध्यपहाडी राजमार्ग जस्ता दीर्घकालीन महत्वका योजना सरकारले उच्च प्राथमिकतामा राखेको छ। देशभर तीव्र गतिमा निर्माण कार्य भइरहेको उल्लेख गर्दै उनले अहिलेको सरकार कामका लागि प्रतिबद्ध रहेको र अलमल गर्ने कुनै छुट नभएको बताए।
त्रिशूली बजारमा आयोजित कार्यक्रममा मन्त्री दाहालले विकासको प्रभाव नागरिकको दैनिकीमा प्रत्यक्ष देखिनुपर्नेमा जोड दिए। कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, पुल महाशाखा प्रमुख ललीजन खनाल लगायतका अधिकारीहरू उपस्थित थिए।
मन्त्रालयमार्फत सिमचौर र त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण भएका पुलहरू निर्धारित समयअघि नै सम्पन्न भएकाले निर्माण कम्पनीलाई सम्मानसमेत गरिएको थियो। स्थानीय नेताहरूले जिल्लाका अधुरा योजना शीघ्र सम्पन्न गर्न माग गरेका छन्