काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्ने ‘शिक्षा हब’ बनाउनुपर्ने बताएका छन्।
राष्ट्रिय, निजी तथा आवासीय विद्यालय एसोसिएसनको ८औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै महरले नेपालमा विदेशी विद्यार्थी भित्र्याउन अनुकूल वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए। “हाम्रो शिक्षा प्रणालीलाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीका लागि छात्रवृत्ति र आकर्षक कार्यक्रम ल्याउन सकेमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन सकिन्छ,” उनले भने।
नेपालको भौगोलिक अवस्थिति र असंलग्न परराष्ट्र नीति शिक्षाका लागि महत्वपूर्ण अवसर भएको बताउँदै उनले भारत र चीन जस्ता ठूला अर्थतन्त्रको छिमेकमा रहनु नेपालको फाइदा भएको बताए। “प्राकृतिक सम्पदा, आयुर्वेद, पर्वतारोहण, मेडिकल तथा अनुसन्धानका क्षेत्रमा नेपालले विशेष महत्व राख्छ। यी विषयमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्ने नीति आवश्यक छ,” महरले भने।
शिक्षा क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई महत्त्व दिँदै उनले निजी लगानीको सुरक्षा कांग्रेसका लागि प्राथमिकता रहेको उल्लेख गरे। “कांग्रेस खुला बजार अर्थतन्त्रमा विश्वास गर्छ। हामी ‘पब्लिक–प्राइभेट पार्टनरसिप’ (PPP) मा दृढ छौं,” उनले स्पष्ट पारे।
विद्यालय शिक्षा विधेयकका विषयमा उनले अधिकार मात्र खोजेर समाधान ननिस्कने भन्दै जिम्मेवारी र सहकार्यको आवश्यकतामा जोड दिए। “विधेयक पास गर्नका लागि सबै पक्षले केही सम्झौता गर्न तयार हुनुपर्छ, नत्र ठिक समयमा निष्कर्षमा पुग्न कठिन हुनेछ,” उनले भने।
निजी विद्यालयको लगानी सुरक्षाका विषयमा पार्टी सभापति शेरबहादुर देउवा स्वयं गम्भीर रहेको उल्लेख गर्दै उनले देउवाले प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको बताए।
महरले नेपालको शिक्षा प्रणालीलाई बलियो बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। “सही नीति र दीर्घकालीन सोचसहित अघि बढेमा नेपाललाई दक्षिण एसियाको प्रमुख शिक्षा केन्द्र बनाउन सकिन्छ,” उनले भने।
उनले सरकारले बजेटमा उचित व्यवस्था गर्दै विदेशी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुपर्ने प्रस्ताव राखे।