काठमाडौँ । केबलकार निर्माणको विरोध गर्दै आएको ‘नो केबलकार समूह’ले आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । बिहीबार जारी गरिएको विज्ञप्तिमा फागुन १७ गतेदेखि विभिन्न चरणमा प्रदर्शनको कार्यक्रम सार्वजनिक गरिएको छ ।
समूहका अनुसार, कोशी प्रदेशका १४ जिल्ला, मधेश प्रदेश र राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरिनेछ । फागुन १७ गते कोशीका सबै जिल्लासहित मधेशमा जनप्रदर्शन र विरोधसभा गरिनेछ भने फागुन १८ गते अन्तर्राष्ट्रिय स्तरमा समर्थन जुटाउन ग्लोबल जुम बैठक आयोजना गरिने उल्लेख छ । त्यसपछि काठमाडौंमा बृहत् प्रदर्शन गर्ने तयारी गरिएको छ ।
आन्दोलनरत समूहले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी नायव उपरीक्षक रवि रावलको परिवारसहितको तस्वीर सार्वजनिक गर्ने तथा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको सम्बन्धित निकायमा उजुरी दिने घोषणा पनि गरेको छ ।
यसअघि समूहले वार्ताका लागि चार बुँदे प्रस्ताव अघि सारेको थियो, जसमा गिरफ्तार नागरिकको रिहाई, घाइतेको निःशुल्क उपचार, दोषीलाई कारबाही तथा मुक्कुम्लुङ क्षेत्रबाट सुरक्षाकर्मी र निर्माण सामग्री फिर्ता गर्ने माग समावेश थिए ।
समूहको विज्ञप्तिमा मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति संयोजक श्रीप्रसाद लिम्बू, केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु, किरात याक्थुङ चुम्लुङ संघीय समिति संयोजक एवं प्रदेश १ पुन: नामांकन संघर्ष समिति संयोजक प्रेम एक्तेन, किरात राई यायोक्खा संघीय समिति संयोजक जीवन हातासो राई, लिम्बू थरगत संस्था–याक्थुङ सयङ सहजीकरण समूह संयोजक नन्द कन्दङवा, प्रदेश नम्बर १ पुन: नामांकन अभियान समिति संयोजक डकेन्द्र सिं थेगीम तथा नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष गेल्जे शेर्पाले हस्ताक्षर गरेका छन् ।

