+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

बुलेट आमा’लाई काठमाडौँ महानगरको सम्मान, अन्तरदेशीय यात्रामा हौसला

जनवाच
१ महिना अगाडी

काठमाडौँ, १५ फागुन – गुन्युचोली लगाएर मोटरसाइकल यात्रामा निस्किएकी ५५ वर्षीया ‘बुलेट आमा’ शुशिला उप्रेती तिवारीको साहसलाई काठमाडौँ महानगरपालिकाले विशेष सम्मान प्रदान गरेको छ।

आज उपप्रमुख सुनिता डंगोलले उहाँलाई प्रशंसा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिएकी छन्। सो अवसरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गर्दा प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले खादा ओढाएर सम्मान गरेका थिए।

सम्मान ग्रहण गर्दै तिवारीले नेपाली महिलाको आत्मविश्वास, हिम्मत र साहसलाई विश्वभर चिनाउन आफूले मोटरसाइकल यात्रालाई निरन्तरता दिइरहेको बताइन्।

उपप्रमुख डंगोलले तिवारीको मोटरसाइकल यात्राले नेपाली महिलाको सामर्थ्यलाई उजागर गर्दै साहसी नेपाली महिलाको पहिचानलाई प्रवर्द्धन गरेको उल्लेख गरिन्।

झापाको बुधबारे निवासी तिवारीले गएको भदौ ५ गते मेचीदेखि सुरु गरेको यात्रा नवौँ दिनमा कञ्चनपुरको गड्डाचौकी पुगेर सम्पन्न गरेकी थिइन्। अब, भारत, बंगलादेश, मलेसिया हुँदै थाइल्याण्डसम्मको अन्तरदेशीय यात्रा गर्ने तयारी रहेको तिवारीले जानकारी गराइन्।

“हरेक यात्राले नयाँ अनुभव दिन्छ, नयाँ प्रेरणा दिन्छ। म नेपाली महिलाको साहसलाई विश्वभर चिनाउन चाहन्छु,” तिवारीले भनिन्। उनको साहसी यात्राले अन्य महिलालाई पनि नयाँ बाटो पहिल्याउन हौसला दिने विश्वास गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ