काठमाडौं, फागुन १५ – नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षाले सेयर बजारमा नयाँ ऊर्जा भरेको छ। पहिलो एक घण्टामै ३ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार हुँदा बजार परिसूचक नेप्से २६ अंकले उकालो लागेको छ। बजार २७९२ विन्दुमा पुगेको छ भने बैंकिङ क्षेत्रका सेयरहरू लगानीकर्ताको रोजाइमा परेका छन्। मौद्रिक नीतिले असल कर्जाको प्रोभिजन दर घटाएर १.१ प्रतिशतबाट १ प्रतिशतमा झारेपछि बैंकहरूको अनुमानित नाफा करिब ५ अर्ब रुपैयाँले वृद्धि हुने आँकलन गरिएको छ। यसै कारण बैंकिङ सेयरमा आकर्षण देखिएको हो। बैंकिङ क्षेत्र २.६ प्रतिशतले उकालो लाग्दा, माइक्रोफाइनान्स, लगानी र होटल क्षेत्र पनि १ प्रतिशतभन्दा धेरैले बढेका छन्। १२ बजेसम्म १६२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ७८ कम्पनीको घटेको छ भने ४ कम्पनी स्थिर रहेका छन्। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी तथा कुमारी बैंक अग्रस्थानमा देखिएका छन्। त्यस्तै, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दोर्दीखोला हाइड्रोपावरका सेयरधनीहरू सर्वाधिक लाभान्वित भएका छन्, किनभने यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।