काठमाडौं, फागुन १५ । काठमाडौं महानगरपालिकाले विद्यार्थीहरूको सिर्जनशीलता, शैक्षिक गुणस्तर सुधार र व्यावहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने शैक्षिक मेला आयोजना गर्ने भएको छ। फागुन १६ र १७ गते राष्ट्रिय सभागृह परिसरमा हुने मेलामा विद्यार्थीको नवीन सिकाइ, शिक्षकको क्षमता अभिवृद्धि तथा सामुदायिक विद्यालय सुधारका कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार मेलाको विशेषता भनेकै विद्यार्थीहरू स्वयं प्रस्तुतकर्ता बन्नु हो। उनीहरूले आ–आफ्ना विद्यालयमा सिकेका सीप र ज्ञानलाई व्यावहारिक रूपमा प्रदर्शन गर्नेछन्। साथै, शिक्षक, अभिभावक, शैक्षिक विज्ञ तथा नीति निर्माताहरूबीच विद्यालय शिक्षाको सुधारबारे गम्भीर छलफल हुने उनले बताए।
मेलामा ‘बुक फ्री फ्राइडे’ अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलहरू राखिने छन्, जसमा विद्यार्थीहरूले वैज्ञानिक, प्रविधि, कला तथा साहित्यसम्बन्धी आफ्ना नवाचारहरू प्रदर्शन गर्नेछन्। एक हजारभन्दा बढी विद्यार्थीका सिर्जनात्मक स्केचिङ र मूर्तिकलाका नमूनाहरू प्रदर्शनीमा समावेश गरिनेछ।
मेलामा शिक्षकहरूको व्यावसायिक विकास तथा विद्यालय सुधारका उत्कृष्ट अभ्यासहरूको आदान–प्रदान गरिनेछ। अभिभावकलाई विद्यालय शिक्षाका नयाँ अवधारणाबारे जानकारी गराइनेछ। साथै, विद्यार्थी नमुना संसद् अभ्यास, सामुदायिक विद्यालय सुधारसम्बन्धी छलफल तथा प्रविधिमार्फत सिकाइका उदाहरणहरू प्रदर्शन गरिने महानगरले जनाएको छ।
मेलालाई थप आकर्षक बनाउन नेपाल भाषा, मौलिक संस्कृति तथा भेषभूषा झल्कने प्रदर्शनी राखिनेछ। साथै, स्थानीय परिकार समेट्दै सामुदायिक विद्यालयहरूले दिवा खाजा योजनाअन्तर्गत ३० रुपैयाँमै खाजा उपलब्ध गराउनेछन्।
शिक्षा सुधारलाई व्यवहारिक र वैज्ञानिक बनाउन महानगरले थालनी गरेका योजनाहरूको प्रभाव मूल्यांकन गर्दै आगामी दिनमा सुधारका थप उपायहरू अवलम्बन गर्ने लक्ष्यसहित शैक्षिक मेला आयोजना गर्न लागिएको महानगरले जनाएको छ।