काठमाडौं – काठमाडौँको ठमेलमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका अनेरास्ववियुका पाँच विद्यार्थी नेताहरूलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश हर्कबहादुर केसीको इजलासले सोमबार सुनुवाइ गर्दै पक्राउ परेका रमेश फुलारालाई १५ हजार रुपैयाँ तथा कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, र दिनेश सिग्देललाई जनही १० हजार रुपैयाँ धरौटी तिरेर रिहा गर्न आदेश दिएको हो। उक्त घटनामा संलग्न जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष हुन्। उनीहरूलाई प्रहरी वृत्त दरबारमार्गअन्तर्गत केशरमहल बिटमा खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि सांघातिक आक्रमण गरेको आरोप छ। प्रहरी आक्रमणबाट घाइते भएका हवल्दार घर्तीलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइएको थियो। घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको थियो भने जवान विष्टको आँखा र शरीरका अन्य भागमा पनि चोट लागेको बताइएको छ। यो आदेशपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ भने अनेरास्ववियुका नेताहरूले आफूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको दाबी गरेका छन्।