+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाज

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा उल्लासमय प्रभातफेरी, तयारी पूरा

महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनहरूको भीड बढ्दो छ। नेपाल र भारतलगायत विभिन्न देशबाट साधुसन्तहरू पशुपति क्षेत्रमा भेला हुन थालेका छन्।

जनवाच
१ महिना अगाडी

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसर उल्लासमय बनेको छ। सोमबार बिहान पशुपति क्षेत्र विकास कोषको आयोजनामा भव्य प्रभातफेरी निकालिएको छ, जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण चौधरीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भक्तजनहरूको सहभागिता रहेको थियो।

पशुपतिको मूलढोकाबाट सुरु भएको प्रभातफेरी पिंगलास्थान, गौशाला, जयबागेश्वरी हुँदै पुनः मन्दिर परिसरमै पुगेर समापन भएको थियो। यस क्रममा संस्कृत विद्याश्रमका विद्यार्थी, गुरुवर्ग र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले धार्मिक गान र भजनकीर्तनसहित वातावरणलाई भक्तिमय बनाएका थिए।

महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनहरूको भीड बढ्दो छ। नेपाल र भारतलगायत विभिन्न देशबाट साधुसन्तहरू पशुपति क्षेत्रमा भेला हुन थालेका छन्। कोषले साधुसन्तहरूको बसोबास, भोजन र धुनीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन पूरा गरेको जनाएको छ।

बुधबार (फागुन १४) महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा ठूलो मेला लाग्नेछ। भक्तजनहरूलाई सहज दर्शन गराउनका लागि कोषले सुरक्षा, शौचालय, पेयजल, चिकित्सा सहायता र अन्य व्यवस्थापनका सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ। शिवरात्रिपछिको औँसीका दिन पशुपति क्षेत्रमा रहेका साधुसन्तहरूलाई परम्परागत रूपमा दक्षिणा प्रदान गरेर बिदाइ गरिनेछ।

पशुपति क्षेत्रमा महाशिवरात्रिको उल्लासमय माहोल सुरु भइसकेको छ, भक्तजनहरू आस्थाका साथ पूजापाठ गर्न जुटिरहेका छन्। कोषका पदाधिकारीहरूले महाशिवरात्रि भव्य र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ