काठमाण्डौ, साउन ६ गते ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाएको छ ।
मनसुनी वायुको प्रभावले अहिले देशभर साधारणतया बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
शनिबार दिउँसो पनि देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ ।
त्यस्तै कोशी र बागमती प्रदेशका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा राति मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।