+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थ

स्वयम्भू महोत्सव: स्थानीय संस्कृति, पर्यटन र अर्थतन्त्र प्रवर्द्धनको अवसर

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन ७ – काठमाडौं महानगरपालिकाको वडा नं. १५ ले स्वयम्भू महोत्सव आयोजना गर्ने भएको छ। ‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित फागुन १० गतेदेखि १७ गतेसम्म चल्ने महोत्सवले सांस्कृतिक सम्पदा, स्थानीय उत्पादन, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिशीलतामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

वडाध्यक्ष ईश्वरमान डंगोलका अनुसार स्वयम्भू महोत्सवले ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई उजागर गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ। “स्वयम्भू, बसन्तपुर र ठमेल पैदल दुरीमा छन्। यी सम्पदा तथा पर्यटकीय क्षेत्रको उचित व्यवस्थापनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ,” डंगोलले बताए।

महोत्सवको व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन भएका छन्। सांस्कृतिक कार्यक्रम उपसमितिमा ५२ जना, व्यवस्थापन उपसमितिमा ३० जना, स्वागत उपसमितिमा १२० जना सदस्य छन्। प्रचार-प्रसार, सरसफाइ तथा स्टल व्यवस्थापन, सुरक्षाका लागि पनि फरक उपसमितिहरू सक्रिय छन्।

करिब ६० स्टल रहने महोत्सवमा परम्परागत बाजा, बौद्ध संस्कृति झल्काउने चित्रकला, हुलाक टिकट, मुद्रा संग्रह र स्थानीय हस्तकला प्रदर्शनी प्रमुख आकर्षण हुनेछन्। साथै, मौलिक परिकारका स्टल, निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदान जस्ता सेवा उपलब्ध हुनेछन्।

रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता गतिविधिले महोत्सवलाई थप रोचक बनाउनेछ।

स्थानीय समुदाय, व्यवसायी तथा पर्यटकका लागि विशेष अवसरका रूपमा हेरिएको स्वयम्भू महोत्सवले ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाउने विश्वास गरियेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ