काठमाडौँ- फागुन ८ – झापा-११ एफसीले भद्रपुर झापा गोल्डकपमा पुनः आफुलाई प्रमाणित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको छ। मेची रंगशालामा सम्पन्न दोस्रो दिनको खेलमा झापाले मछिन्द्र क्लबलाई १-० गोलले पराजित गर्दै इटहरी गोल्डकपको हारको बदला लिएको छ।
खेलको २९ औं मिनेटमा झापाका बबिन बोहोराले निर्णायक गोल गरे। एरोन थापाको क्रस पासलाई वान टचमा जाली चुमाउँदै बोहोराले टिमलाई अग्रता दिलाए, जुन अन्तिमसम्म कायम रह्यो। झापाले अब क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ।
खेलभरि दुबै टोली आक्रामक देखिए। झापाका पेनाल्टी एरियामा बोहोराले २१ औं मिनेटमा पाएको मौका खेर फाले भने मछिन्द्रका ओमोलाजा करिमको २० औं मिनेटमा प्रहार पोस्टमा लागेर फर्कियो।
मछिन्द्रका आदित्य शाक्य, सनिस श्रेष्ठ, र दयानन्द सिंहले उत्कृष्ट अवसर पाए पनि गोल गर्न सकेनन्। खेलको अन्तिम मिनेटसम्म आक्रमण जारी राखे पनि झापाका गोलकिपर सन्दीप लिम्बूको उत्कृष्ट प्रदर्शनले मछिन्द्रलाई निराश बनायो।
झापाका गोलकिपर सन्दीप लिम्बू ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद २१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
शुक्रबार प्रतियोगिताको पहिलो क्वार्टर फाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लब भिड्दैछन्। विजेता टोलीले नगद १३ लाख, उपविजेताले ७ लाख तथा प्रतियोगिताभरिको उत्कृष्ट खेलाडीले १ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
दर्शकहरूका लागि विशेष उपहारहरू पनि प्रदान गरियो। भाग्यशाली एक दर्शकले हिमस्टार टिभी जिते भने अर्का एक दर्शकले एयरपोर्ट होटलमा दुई जनाको डिनरको अवसर प्राप्त गरे। त्यस्तै, सुनचाँदी व्यवसायी संघ, भद्रपुर शाखाले दुईजना दर्शकलाई चाँदीको सिक्का प्रदान गर्यो।