काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा निधन भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गृहजिल्ला रुपन्देहीमा सम्पन्न भएको छ।
उनको शव गएराति १२ बजे रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८, बैंकरोड कोलोनीमा ल्याइयो। परिवारजन तथा स्थानीयको उपस्थितिमा स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको हो। प्रहरीका अनुसार बिहीबार बिहान चार बजेसम्म अन्त्येष्टि प्रक्रिया सकिएको थियो।
रुपन्देही प्रहरीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले अहिले स्थानीय स्थिति सामान्य रहेको बताए। उनका अनुसार प्रकृतिको शव ओडिसाबाट गोरखपुरसम्म हवाईजहाजमार्फत ल्याइयो भने गोरखपुरबाट रुपन्देहीसम्म सवारीसाधन प्रयोग गरी पुर्याइएको थियो।
ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा बी-टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टल कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। भारतीय सञ्चारमाध्यमहरूले प्रारम्भिक अनुसन्धानको आधारमा आत्महत्याको आशंका गरेका छन्।