+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनाङ अस्पतालमा दरबन्दी १८, काममा ५ जना मात्र

जनवाच
९ महिना अगाडी

मनाङ ।
सरकारले मनाङ जिल्ला अस्पतालका लागि १८ जनाको स्थायी दरबन्दी तोकेको छ । हाल सो अस्पतालमा ५ जना मात्र कार्यरत छन् । सरकारले हालसम्म सो दरबन्दी पूरा गर्न सकेको छैन । करारमा राखिएका कर्मचारी पनि असार मसान्त सकिएसँगै कतिपय कर्मचारीको कार्यावधि सकिएको छ ।

यसले जिल्ला अस्पतालको काम गर्न सकस भएको छ । भएका दरबन्दीमा पनि दक्ष जनशक्ति छैनन् । अस्पतालमा २ चरण गरेर काम गराउने वातावरण पनि छैन । दुर्गममा कर्मचारी आउनै मान्दैनन् । थोरै जनशक्तिबाट धेरै काम गर्नुपरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भारती मेहताको गुनासो छ । सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधिबाट जिल्ला अस्पताल चलाउनुपरेको उनी बताउँछिन् । उनले प्रदेश सरकारसँग सशुल्क फार्मेसीका लागि माग गरेको जनाइन् ।

स्थानीयलाई सहज रूपमा स्वास्थ्य उपचारको पहुँचमा पुर्‍याउने उद्देश्यले निर्माण भइरहेको अस्पताल भवन पूरा हुन सकेको छैन । स्वास्थ्य चौकीभन्दा पनि कम जनशक्ति र साँघुरो भौतिक संरचनामा सेवा प्रवाह हुँदै आएको अस्पताललाई १५ शड्ढयामा स्तरोन्नतिको काम पूरा हुन नसकेको हो ।

जीर्ण भौतिक पूर्वाधार भएको भवनबाट जिल्लावासीलाई प्रभावकारी सेवा पुर्‍याउन सकिएको छैन । यस अस्पताललाई १५ शड्ढयामा स्तरोन्नति गरेर जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रदेश सरकारले ४ वर्ष अघिदेखि अस्पताल निर्माणको काम भइरहेको छ । तेस्रो पटक थप गरिएको म्याद पनि सकियो तर काम सकिएको छैन ।

स्वास्थ्य चौकी भन्दा पनि कम जनशक्ति र साँघुरो भौतिक संरचनाबाट सेवा दिइरहेको मनाङ अस्पतालमा कर्मचारी जानै मान्दैनन् । तीन पटक म्याद थप गरिसकिएको छ । अन्तिम पटकको म्याद पनि सकिसकेको अवस्था भए पनि निर्माणको काम भने सकिएको छैन । उक्त अस्पताल भवनको संरचना निर्माण पूरा गर्न चौथो पटक म्याद थप गर्नुपर्ने अवस्था आएको छ ।

ठेकेदारले बेलैमा निर्माण सम्पन्न नगर्दा सामान्य रोगका लागि पनि दुर्गम क्षेत्रबाट बिरामीले सास्ती खेप्नुपरेको छ । वि.सं २०८१ असार मसान्तसम्म अस्पतालको भवन निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । थप भएको समयमा पनि अस्पतालको भवन निर्माण सम्पन्न भएन । अहिले अस्पताल भवनको निर्माणको काम ठप्प भएको छ ।

विसं २०४६ फागुन १९ गते निर्माण सम्पन्न भई सेवा प्रदान गर्दै आएको जिल्ला अस्पताल जीर्ण अवस्थामा पुगेको छ । दुर्गमका जनतालाई प्राथमिक उपचार दिने उद्देश्यले सञ्चालित अस्पतालको भवन जीर्ण भएपछि नयाँ भवन निर्माणका लागि १४ करोड लागतमा ओम बुद्ध, बुद्ध जेभीले विसं २०७६ मा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार कम्पनीले काम गर्न नसकेपछि जिल्लावासीको सहज स्वास्थ्य सेवा पाउने आशा निराशामा परिणत भइरहेको छ । कामले गति लिन नपाएपछि सेवाग्राहीको अपेक्षा पूरा हुने अवस्था अझै पनि छैन । समयमा अस्पतालको भवन निर्माण नहुँदा स्वास्थ्यको पहुँचमा पुग्न सकस भएको अवस्था छ । सामान्य उपचारका लागि पनि हेलिकप्टरको सहारा लिन जिल्लावासी बाध्य भएका छन् । हेलिकप्टर नभए जिल्ला बाहिरका अस्पताल जानुपर्ने बाध्यताबाट मनाङ्गी जनताले मुक्ति पाएका छैनन् ।

ओम बुद्ध, बुद्ध जेवी कम्पनीका ठेकेदार अनिल घिमिरेले आर्थिक रूपमा ८० र भौतिक रूपमा ९८ प्रतिशत काम सम्पन्न गरेको दाबी गरेका छन् । ठेकेदार घिमिरेले रङ्गरोगन तथा टाइल बिछ्याउने कार्य भइरहेको जानकारी दिए । उनी भन्छन्, ‘बर्खासँगै सडकको अवस्था र सामग्री ढुवानीमा समस्या भएकाले निर्माणमा ढिलाइ भएको हो ।’

सडक सहज हुनासाथ कामले तीव्रता पाउने उनको भनाइ छ । विसं २०७५ देखि गण्डकी प्रदेश अन्तर्गत रही सञ्चालन हुँदै आएको अस्पतालबारे समस्या प्रदेश सरकारसमक्ष जानकारी गराएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मेहता मुख्य ठेकेदार र स्थानीय ठेकेदारको बीचमा आन्तरिक कुरा नमिल्दा अस्पताल भवन निर्माणले तीव्रता पाउन नसकेको बताउँछिन् । अस्पतालका तर्फबाट पनि आफूहरूले धेरै नै पहल गरेको उनको भनाइ छ । डा. भारतीले पनि असार मसान्तभित्र अस्पताल निर्माण सम्पन्न भइसक्नेमा आशावादी रहेकामा पूरा हुन नसकेको गुनासो गरिन् ।

साहसिक पदयात्राको प्रवेशद्वार चामेमा अवस्थित अस्पतालले विदेशी तथा स्वदेशी पर्यटकलाई पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । प्रत्येक वर्ष लेक लागेर अकालमा हुने मृत्युदर घटाउनमा पनि अस्पतालले निकै ठूलो भूमिका खेलिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ