काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ३५ अर्ब तरलता उठाउने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २० दिनका लागि ३५ अर्ब उठाउन लागेको हो ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार ६७ खर्ब १७ अर्ब पुग्दा यता कर्जा लगानी मुस्किलले ५४ खर्ब २० अर्ब मात्र पुगेको छ ।
समीक्षा अवधिमा ७९.३६ प्रतिशत कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कामय गरेका बैंक तथा वित्तीय संस्थाहरुसँग लगानी गर्न मिल्ने ७ खर्बमाथिको तरलता रहेको छ । तर, लगानीको उपयुक्त ठाउँ नभेट्दा बैंकहरु समस्यामा छन् ।
बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले २० दिनका लागि निक्षेप संकलन उपकरणका माध्यमबाट ३५ अर्ब रुपियाँ तरलता प्रशोचन गर्न लागिएको जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । दिउँसो ३ बजेपछि बोलकबोल हुने निक्षेप संकलन उपकरणको आजै बिक्री हुने समेत बैंकले जनाएको छ ।
इच्छुक खरिद कर्ताले घटीमा १० करोड रुपियाँ र बढीमा ५ करोड रुपियाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।