काठमाडौं। प्रतिनिधि सभाका सांसद एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहले झोले न्यायाधीश भनेपछि हंगामा भएको छ । सांसद साहले केहीँ दिन अघि सामाजिक सञ्चाल फेसबुकमार्फत आफ्नै जिल्लाको अदालतका न्यायाधीशलाई इंकित गर्दै ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए ।
सोही विषयलाई लिएर अदालतको अपमान गरेको भन्दै बौधिमाई नगरपालिकाका मेयर प्रदीप यादवले साहले प्रभु साह विरुद्ध जिल्ला अदालतमा मुद्दा हालेका थिए ।
रौतहट जिल्ला अदालतले आइतबार प्रतिनिधि सभा सदस्य प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।
उक्त मुद्दामा आइतवार भएको सुनुवाईपछि प्रतिनिधि सभा सदस्य समेत रहेका साह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेका हो ।
रौतहट जिल्ला अदालतको ६ नम्वर न्यायाधीश शम्भु रेग्मीको इजलाशमा मुद्दाको सुनुवाइ भएको श्रेष्तेदार उद्धव ढोडारीले बताए । उनका अनुसार कारण देखाउ आदेश जारी भइसकेको भएपनि पूर्ण पाठ आउन समय लाग्नेछ ।
इजलाशबाट पूर्ण पाठको विवरण आएपछि मात्रै जानकारी गराउने उनले बताए । आम जनता पार्टीका अध्यक्ष साह रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन ।