काठमाडौं। नेपाली चलचित्र एक्टर : टेक वन फिल्मको प्रदर्शनमा अदालतले रोक लगाएको छ । काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्नू निर्मातालाई अन्तरकालीन आदेश जारी गरेको हो । फिल्मका बारेमा प्रश्न उठेको भन्दै अदालतले यस्तो आदेश गरेको हो ।
अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । दुवै पक्षको छलफल नभएसम्मका लागि अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
सहिद दिवसको अवसर पारेर बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म अदालतले अन्तरिम आदेश जारी गरेपछि रोकिने भएको छ । तर फिल्मको प्रदर्शनका लागि हलले अग्रिम बुकिङ खुल्ला गर्दै टिकट समेत बेचेका छन् । फिल्मनै प्रदर्शन नहुने भएपछि बिक्री भएको टिकट के हुन्छ ? यो विषयमा सर्वसाधारण अन्योलमा रहेका छन् ।
यस विषयमा हलवालाहरूको छाता संगठन चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले अदालतको आदेशको विषयमा छलफल भइरहेको बताए । ‘हामी अदालतको भाषा बुझ्दैनौं’ उनले भने, ‘वकिलसँग सल्लाह गरेर यस विषयमा अगाडि बढ्छौं । ’ टिकटको विषयमा पनि केही समयपछि निर्णय हुने महर्जनको भनाइ छ ।