पोखरा। लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पोखरा–१७, दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई निरन्तर सहयोग गर्दै आएको छ। यस पटक पनि बैंकले एकेडेमीमा आश्रित विद्यार्थीहरूको समुन्नतिका लागि रु. २ लाख ४५ हजार आर्थिक सहयोग प्रदान गरेको छ।
पोखरामा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल र अर्जुन थापाले साहारा फुटबल एकेडेमीका अध्यक्ष केशव राज वराललाई संयुक्त रूपमा चेक हस्तान्तरण गरे। सो अवसरमा सञ्चालक थापाले एकेडेमीमा रहेका विपन्न बालबालिकाहरूको जीवन सुधारका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताए। साथै, एकेडेमीले फुटबल क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै खेलकुदको विकासमा अझै अगाडि बढ्नुपर्नेमा जोड दिए।
बालबालिकाको शिक्षादेखि खेलकुदसम्म सहयोग
साहारा क्लबका अध्यक्ष वरालले लुम्बिनी विकास बैंकलाई धन्यवाद दिँदै प्राप्त रकम एकेडेमीमा आश्रित बालबालिकाहरूको खाजा तथा खानाको व्यवस्थापनमा खर्च गरिने जानकारी दिए।
साहारा फुटबल एकेडेमीमा हाल ४० जना कठिन परिस्थितिका बालकहरू आश्रित छन्। क्लबले उनीहरूको लालनपालन, औपचारिक शिक्षा, र फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ। २०६१ सालदेखि सञ्चालनमा रहेको एकेडेमी नेपालकै पहिलो सामाजिक फुटबल एकेडेमीका रूपमा परिचित छ।
लुम्बिनी विकास बैंकको देशव्यापी सेवा विस्तार
देशभर ८९ शाखा कार्यालय र १ विस्तारित शाखा सहित सेवा प्रदान गरिरहेको लुम्बिनी विकास बैंकले “निरन्तर सहयात्रा” नाराका साथ आधुनिक तथा सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। बैंकले भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।