काठमाडौं । बजारमा अनुगमन टोली आएको खवर सुनेर सटर बन्द गर्ने अवस्थालाई रुपान्तरण गरेर मेरो व्यवसायको अनुगमन गरिदिनोस्, मेरो व्यवसायको स्तर निर्धारण गरिदिनोस् भन्ने संयन्त्रका लागि काम गरिरहेको काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले बताएकी छिन । सोमबार दरबार हाइस्कूलमा होटल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायीका लागि आयोजना गरिएको क्षमता विकास कार्यक्रममा सहभागीहरुसँग अन्तरक्रिया गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।
खाद्य सेवाको स्तरलाई प्रमाणीकरण गर्ने योजनाका विषयमा कुरा गर्दै डंगोलले भनिन्, ‘मापदण्ड पूरा गरेकालाई प्रमाणीकरण गर्ने योजनामा छौँ । जसको प्रमाणीकरण हुन्छ त्यहाँ व्यापार वृद्धि हुन्छ । जसको प्रमाणीकरण हुँदैन, त्यहाँ व्यापार पनि हुँदैन । स्तर कायम गराउन व्यवसायीका बिचमा स्वच्छ र सकारात्मक प्रतिस्पर्धा गराउने हाम्रो योजना हो ।’
उनले थपिन्, ‘प्रमाणीकरण हुनुअघि सबैलाई मापदण्डबमोजिम सञ्चालन गर्ने अवसर प्रदान गर्नेछौँ । स्तर कायम गराउन क्षमता अभिवृद्धि गराउनेछौँ । यसपछि टोली अनुगमनमा आयो भनेर चिन्तित हुनुपर्दैन । बरु मेरोमा अनुगमन गर्न आउन भ्याएको छैन, कहिले स्तरीकरण र प्रमाणीकरण गर्ने होला भनेर चिन्ता गर्नु पर्ने हुन्छ’ उनले भनिन् ।
दण्ड जरिवानाका लागि अनुगमन होइन । अनुगमनले स्वच्छता, गुणस्तरीयता र मूल्यसहित प्रचलित पेशागत मर्यादाका पक्ष हेरेर उपभोक्ताको हक सुनिश्चित गर्नका लागि रहेको उनले बताइन् । यी विधि र प्रक्रिया पालना नगर्दा मात्र जरिवाना हुन्छ । विधि पालना गर्नेहरुको क्षमता विकासमा अनुगमनले सहयोग गर्दै आएको समेत उनले बताइन् ।
महानगरद्धारा आयोजित तालिममा ३६६ जना व्यवसायीहरुको सहभागिता थियो । तालिममा सहभागी हुन पाएकोमा व्यावसायिक संघसंस्थाहरुले महानगरपालिकाको प्रशंसा गरेका छन् ।
‘हामीलाई सरकारले बोलाएर यसो गर्नु पर्छ भनेको यो नै पहिलो पटक हो । महानगरपालिकाको यो तालिमले हामीलाई थप जिम्मेवार वोध भएको छ ।’ जिल्ला होटल व्यवसायी संघ, काठमाडौँका अध्यक्ष सुरेश बरालले प्रतिक्रिया दिए ।
खाद्य सेवामा रहेका व्यवसायी र सेवा सम्बद्ध पेशाकर्मीलाई स्वच्छता, सरसफाइ र प्रचलित व्यवस्थाका बारेमा तालिम दिने क्रममा आज चौथो संस्करणको तालिम सकिएको हो । तालिममा होटल, व्याङ्क्वेट र क्याटरिङ् पेशासँग सम्बन्धित व्यवसायीहरुलाई सहभागी गराइएको थियो । तालिममा खाद्य सेवा सम्बन्धी मापदण्डमा के व्यवस्था छ?, सञ्चालन व्यवहारिक अभ्यास कस्तो छ? हुनु पर्ने के हो? लगायत सेवासँग सम्बन्धित यिनै विषयमा ज्ञान, सिप प्रदान गरिएको तथा अनुभव आदानप्रदान गरिएको थियो ।
तालिम ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रमअन्तर्गतको हो । स्वच्छ खाना : उत्कृष्ट व्यापार (सेफर फुड : वेटर विजनेस) सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्याधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको छ ।
यसको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइएको थियो । दोस्रो संस्करणमा दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिइयो । दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको थियो । यसका लागि २११ जनालाई बोलाइएकोमा १६२ जना सहभागी हुनुभएको थियो ।
