काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक व्यापारतर्फ मुलुकलाई खुद ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ घाटा लागेको छ । साउनदेखि मंसिर मसान्तसम्म वैदेशिक व्यापारतर्फ कूल ७ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको कारोबार हुँदैगर्दा ५ खर्ब ८७ अर्ब रुपैयाँ बढी घाटा लागेको हो ।
मंसिर मसान्तसम्म कूल ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको मालवस्तु नेपाल आयात भएको छ । यसैअवधिमा नेपालबाट ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको मालवस्तु आयात हुँदा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । अघिल्लो वर्ष ५ खर्ब ७९ अर्ब रुपैयाँ घाटा लाग्दा यो वर्ष यस्तो व्यापार घाटा १.८२ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष निर्यात १६.५४ प्रतिशतले बढेपनि आयात ३ प्रतिशतले बढ्दा व्यापार सन्तुलनामा खासै असर नगरेको विभागको तथ्यांकले देखाएको छ ।
समीक्षा अवधिमा वैदेशिक व्यापारतर्फ कूल ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपियाँ बराबरको कारोबार हुँदा आयात र निर्यातको साझेदारी हिस्सा ८९.९८/१०.०२ प्रतिशत रहेको छ । अर्थात् नेपालले एक सय रुपियाँमा ८९.९८ रुपियाँको आयात गर्दैगर्दा जम्मा १०.०२ रुपियाँ बराबरको मात्र वस्तु निर्यात गर्न सकेको छ ।
समीक्षा अवधिमा आयात निर्यातबाट सरकारले एक खर्ब ८५ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।