काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको छ । डिसेम्बर १५ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूची अनुसार डिजेल प्रतिलिटर रु ०.१८ ले घटेर तथा पेट्रोल प्रतिलिटर रु. ०.५८, मट्टितेल रु.१.७४, हवाई इन्धनमा रु. १.३५ र एल. पि. ग्यास प्रति सिलिण्डर रु. १४.४९ ले बढेर आएको निगमले जनाएको छ।
प्राप्त नयाँ मूल्य सूची अनुसार आइतबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु. १.००, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु.२.०० र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलो लिटर अमेरिकी डलर १५ का दरले बढाउने निर्णय गरेको छ । भने पोखरा र भैरहवाकालागि ब्रेक इभेन्ट पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।
तर, आम उपभोक्ताको हितलाई मध्यनजर गरी एल.पी. ग्यासको मूल्य भने बढेर आएतापनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ। बढेको मूल्य सोमबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
