काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समिति चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको १५ औं वार्षिक साधारण सभा तथा सातौं महासभाले अध्यक्षमा मेनुका कार्कीसहित सिंगो कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष कार्की निकटम प्रतिस्पर्धी बानियाँलाई १३ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले एक सय मत पाउँदा बानियाँले ८७ मत पाए । निर्वाचनका लागि नवीकरण भएका कूल २३२ मतमध्ये १९० मत खसेको थियो ।
१३ सदस्यीय कार्यसमिति रहने नाफिजको शनिबार सम्पन्न महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरि १० सदस्य निर्वाचित गरेको छ ।
संघको उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन् । खतिवडाले १०४ र थापाले ९३ मत प्राप्त गरेका थिए । उपाध्यक्षका दुई जना प्रतिस्पर्धी प्रमेश्वर अधिकारीले ९२ र विजय दमासेले ६५ मत प्राप्त गरे ।
यसैगरि महासचिवमा निकेश खत्रीले ११२ मत प्राप्त गरि बिजयी भएका छन् भने उनका प्रतिस्पर्धी नविन ढुंगानाले ६६ मत प्राप्त गरे । सचिवमा भने राजाराम न्यौपाने निर्वाचित भएका छन् । उनले १२६ भोट ल्याउँदा उनका प्रतिस्पर्धी चेतनारायण पाण्डले भने ५७ मत प्राप्त गरे ।
कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले १०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन) ले ८३ मत ल्याए । यस्तै, सदस्यहरुमा अनिस मिजार १२०, अनुप आचार्य ११८, चित्रराज भण्डारी ११६ र शुक्र गिरीले १०७ मत ल्याएर बिजयी भएका छन् । अर्का प्रतिस्पर्धी आशुतोष अर्यालले भने ९२ मत प्राप्त गरे ।
नाफिजको विधानअनुसार यसअघिका अध्यक्ष मोदनाथ ढकाल निवर्तमान अध्यक्षको रुपमा कार्य समितिमा रहनेछन् । बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले मनोनित गर्नेछ ।