काठमाडौं । चालू आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले ४ करोड ४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा लघुवित्तको नाफा ३ करोड ४० लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा लघुवित्तको नाफा १९ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा लघुवित्तले १३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत आवमा १५ करोड ५७ लाख रुपियाँ थियो ।
त्यस्तै, असोज मसान्तसम्म लघुवित्तले २ करोड २२ लाख रुपैयाँ नेट फि एण्ड कमिसन इनकम गरेको छ । यस्तै, १५ करोड ९४ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी र ५ करोड ७८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । यसअवधिमा लघुवित्तको वितरणयोग्य नाफा २४ लाख ५२ हजार रुपैयाँ छ ।
६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको सञ्चित नाफा भने ५४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तले ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी २१.९८ रुपैयाँबाट बढेर २६.१६ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८७.८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ५०.४६ गुणा रहेको छ ।
यस अवधिमा लघुवित्तको खराब कर्जा ४.७६ प्रतिशतबाट घटेर ४.३५ प्रतिशतमा झरेको वित्तीय विवरणमा उल्लेख छ ।