काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ को सेमिफाइनलमा आज नेपालले बलियो प्रतिस्पर्धी भारतको सामना गर्दैछ । आज हुने सेमिफाइनलका दुईवटा खेलमा पहिलो खेल बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेल नेपाल र भारतबीच हुनेछ ।
स्थानीय समय अनुसार पहिलो खेल आइतबार दिउँसो १ बजे शुरु हुनेछ । अर्को नेपाल र भारतबीचको खेल बेलुका साढे ६ बजेदेखि शुरु हुनेछ । घरेलु टोली नेपालले सर्वाधिक ५ पटकको च्याम्पियन भारतको सामना गर्न लागेको हो ।
समूह चरणमा दिनको दोस्रो खेल साढे ५ बजे भए पनि नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने कारणले दोस्रो सेमिफाइनलको समय एक घण्टा पछि सारिएको एन्फाले जनाएको छ ।
सेमिफाइनलसम्म आइपुग्दा अहिलेसम्म भारत बाहेक बाँकी तीन टिम अपराजित छन् । नेपाल भुटान र बंगलादेश समूह्य चरणमा अपराजित रहे । सेमिफाइनल कुन टिमले त्यो अपराजित यात्रा कायम राख्ला त्यो भने हेर्नलायक हुनेछ ।
नेपाल भारत र बंगलादेश अहिलेसम्म भएका सबै सातवटै संस्करणमा सेमिफाइनल पुगेका छन् । भुटान भने सेमिफाइनल पुगेको यो दोस्रो पटक हो ।