काठमाडौं। हेटौंडा सिमेन्ट उद्योगबाट ४० लाख रुपैयाँ बढी मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा प्रहरीले तीनलाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–९ लामसुरेस्थित हेटौँडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोप–वेदेखि क्रसरसम्म जाने छ इञ्च र चार इञ्चको तामाका तार काटी चोरी गरेको आरोपमा हेटौँडा–१३ का मनिराम थोकर, सन्त तितुङ र भारतीय नागरिक दिल खुस कुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
चोरीमा संलग्न भएको आशङ्कामा थोकरलाई नियन्त्रणमा लिई घटनाबारे सोधपुछ गर्दा हेटौँडा–१३ बस्ने २८ वर्षीय सन्त तितुङलगायत अन्य पाँच/सात जना मिलेर तार चोरी गरी तार छिलेर हेटौँडा–४ स्थित कवाडी पसल सञ्चालक भारतको मोतिहारी जिल्ला चिरैया थाना–७ का दिल खुशकुमार साहलाई बिक्री गरेको खुल्न आएपछि उनीहरुलाई पनि नियन्त्रणमा लिइएको उपरीक्षक खड्काले बताए ।
साथै, लागुऔषध तथा चोरीमा संलग्न भएको आरोपमा प्रहरीले अन्य छजनालाई समेत पक्राउ गरेको जनाएको छ । एक सय पाँच किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हेटौँडा–१९ नेवारपानीस्थित पूर्वपश्चिम सडकखण्डको रजैया जाने जङ्गल छेउमा रोकेर राखेको बागमती प्रदेश ०१–०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडी र गाडीमा सवार हेटौँडा–३ बसामाडीका २४ वर्षीय पञ्चलाल थिङलाई गाँजासहित पक्राउ गरेको हो ।