३० जेठ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले संसदमा एक गम्भीर आरोप लगाउदै नेता रवि लामिछानेको कारागार स्थानान्तरण राजनीतिक दबाबका कारण रोकिएको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले रुपन्देही कारागारमा रहेका रवि लामिछानेले डिल्लीबजार कारागारमा आउन चाहेको र त्यसबारे प्रक्रिया अघि बढिसकेको भए पनि राजनीतिक हस्तक्षेपका कारण अन्तिम निर्णय कार्यान्वयन हुन नसकेको दाबी गरे।
“हाम्रो नेता कारागार स्थानान्तरणको वैधानिक अधिकार प्रयोग गर्न चाहन्थे, तर त्यो प्रयास राजनीतिक प्रभावमा रोकियो, सांसद झाले भने, कारागार प्रशासनले प्रक्रिया सुरु गरिसकेको थियो, तर त्यसलाई आधा बाटोमै थाँती राखियो।”
उनको भनाइले सरकारी निर्णय प्रक्रियामा राजनीतिक हस्तक्षेप गहिरिदै गएको संकेत गर्छ। सांसद झाले सभामुख देवराज घिमिरे समक्ष स्पष्ट रूपमा भने, “राजनीतिक दबाबमा राज्यको संयन्त्र प्रयोग गर्नु लोकतन्त्रको अपमान हो।
सहकारी कोष दुरुपयोगसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेको मुद्दा अहिले राजनीतिक र कानुनी बहसको केन्द्रमा रहेको छ। तर, रास्वपा नेता तथा समर्थकहरू यसलाई राजनीतिक प्रतिशोधको सन्दर्भमा हेर्दै आएका छन्।
सांसद झालेको आजको अभिव्यक्तिले सरकारमाथि प्रत्यक्ष आरोप लगाउदै, रवि लामिछानेप्रति देखिएको व्यवहारलाई न्यायको दोहोरो मापदण्ड को संज्ञा दिएका छन्।