+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

सिप मेला’ बाट अवसरको ढोका : जनशक्ति र उद्योगबीचको दूरी घटाउँदै महानगर

जनवाच
९ घण्टा अगाडी

काठमाडौं — ‘नेपाल मै सम्भावना छन्, कुरा सहकार्य र सोचको हो।’ यही सन्देश बोकेर काठमाडौं महानगरपालिकाले अघि सारेको ‘सिप मेला’ कार्यक्रम अब रोजगार र उद्यमशीलताको गतिशील मञ्च बन्न थालेको छ।

गएको वर्षको ‘सिप मेला २०८१’ ले देखाएको प्रभाव र सम्भावनालाई समेट्दै काठमाडौं महानगरपालिकाले आउँदो जेठ ७ गतेदेखि दोस्रो संस्करण सुरु गर्ने तयारी गरिरहेको छ। उक्त मेला न केवल तालिम लिनेका लागि अवसरको थलो बन्न पुगेको छ, तर उद्योग तथा निजी क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति खोज्ने साझा पुलसमेत बनेको अनुभूति निजी क्षेत्रका अगुवाहरूले साझा गरेका छन्।

महानगर प्रमुख बालेन्द्र शाहले निजी, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा भने, “तपाईंहरूले माग गर्ने जनशक्तिअनुसार हामी तालिम सञ्चालन गर्छौं। हामीबीचको खाडल मेट्ने प्रयास सिप मेलाको माध्यमबाट भइरहेको छ।” उनका अनुसार, ‘शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग’ जोड्नु नै दीर्घकालीन समाधान हो।

बैठकमा उद्योगी व्यवसायीहरूले नेपालमै दक्ष जनशक्ति बनाउन सिप मेलाले सकारात्मक प्रभाव पारेको बताउँदै, आधारभूत तालिम अद्यावधिक गर्ने, वैदेशिक रोजगारीबाट फर्किएकालाई समावेश गर्ने, सेवा निवृत्त जनशक्तिको प्रयोग गर्ने र बिउँ पुँजीमा सहजीकरण गर्न आग्रह गरेका थिए।

गोल्छा ग्रुप, वैद्य ग्रुप, चौधरी ग्रुप, सूर्य नेपाल, एनसेल फाउन्डेसन लगायतका उच्च प्रतिनिधिहरूले तालिम र रोजगारको यो प्रयासलाई संस्थागत रूपमा बलियो बनाउन आफूहरू तत्पर रहेको प्रतिबद्धता जनाए।

पछिल्लो वर्ष २,७२५ जनाले तालिम पाएका थिए भने तीमध्ये झण्डै १,२०० जना प्रत्यक्ष रोजगारीमा आबद्ध भएका छन्। यस वर्षको लक्ष्य अझ ठूलो छ १५ हजारलाई तालिम र कम्तीमा ५ हजारलाई रोजगार वा स्वरोजगारमा पुर्‍याउने।

विदेशमै गरिने कामहरू नेपालमै गर्न तयार जनशक्ति छ, रोजगार दिन सक्ने उद्योगहरू छन्, तर जुराइदिने थलो थिएन। सिप मेला त्यसैको उत्तर बन्न थालेको छ। यो मेला अब चेतना मात्रै होइन, सम्भावना देखाउने रणनीतिक अभियान बन्ने दिशामा अग्रसर छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ