काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट आज भदौ ३१ गते सोमबार ५० अर्ब रुपैयाँ प्रशोचन गर्दै छ। वित्तीय प्रणालीमा तरलता अत्याधिक भएपछि राष्ट्र बैंकले एक दिन छोडेर आज व्यवस्थापन गर्नका लागि पुनः ५० अर्ब खिच्न लागेको हो।
निक्षेप बढिरहेको बेला कर्जाको माग बढ्न नसक्दा वित्तीय प्रणालीमा तरलता थुप्रिएको छ। राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो । अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।
निक्षेप संकलन खरिदका लागि सोमबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आइतबार मात्रै निक्षेप संकलन उपकरणमार्फत १ खर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गर्न खोजेका थियो। तर १८ बैंक तथा वित्तीय संस्थाले ३० आवेदन मार्फत ९० अर्ब ८५ करोड रुपैयाँ राख्न प्रस्ताव गरे । राष्ट्र बैंकले औसत २.९६ ब्याजदर दिने गरी प्रक्रिया पुगेको ९० अर्ब ४५ करोड मात्र निक्षेप संकलन गर्यो । यो निक्षेप २१ दिनका लागि लिएको हो, जुन आगामी असोज २० गते परिपक्क हुनेछ ।
बैंक वित्तीय संस्थाहरुको एसडीएफ र निक्षेप संकलन उपकरणमा गरेको २ खर्ब ७६ अर्ब ८० करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा भएको छ । कर्जा विस्तार गर्न नसक्दा बैंकहरुले प्रणालीमा भएको अधिक रकम राष्ट्र बैंकका अल्पकालीन उपकरणहरुमा लगानी गरेका हुन् ।