काठमाडौं, १२ वैशाख — काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ टावर निर्माणसँग सम्बन्धित नक्सापास प्रक्रियामा गम्भीर नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको लामो स्टाटसमार्फत उनले यस प्रकरणमा पूर्व जनप्रतिनिधि, कर्मचारी र तत्कालीन प्रमुखहरू समेतको संलग्नता रहेको दाबी गरेका छन्।
बालेनका अनुसार १२ तला अनुमतिभित्र मात्रै सीमित हुनुपर्ने भवनलाई नीतिगत निर्णयमार्फत १९ तलासम्म पुर्याइयो, जसबाट सार्वजनिक सम्पत्तिमा आर्थिक क्षति पुगेको र केही व्यक्तिहरू लाभान्वित भएको आरोप उनले लगाएका छन्।
सबै प्रमाणहरू महानगरको नियन्त्रणमा सुरक्षित रहेको उल्लेख गर्दै उनले प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगरको आधिकारिक प्रणाली बाहिर गएर नक्सापास गरेको आरोपसमेत लगाए। बालेनले गुरागाईंलाई निलम्बन गरिसकेको भए पनि राजनीतिक दबाबका कारण उनी पुनः काममा फर्किएको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीमाथि समेत अप्रत्यक्ष रूपमा हस्तक्षेपको आरोप लगाएका छन्।