काठमाडौं — नेपाल–चीन व्यापार सम्बन्धले नयाँ उचाइ लिँदै गर्दा काठमाडौँको चोभार सुक्खा बन्दरगाह अब अन्तर्राष्ट्रिय व्यापारका लागि ‘गेम चेन्जर’ बन्न थालेको छ। पहिलो पटक चीनको इयु शहरबाट रेल र सडक दुबै मार्ग हुँदै कन्टेनरमा ल्याइएको सामान सिधै चोभार बन्दरगाहमा आइपुगेपछि अब राजधानी क्षेत्रमै बसेर अन्तर्राष्ट्रिय कारोबार सम्भव भएको स्पष्ट संकेत मिलेको छ।
यसअघि भन्सार जाँचका लागि तातोपानी वा रसुवा हुँदै सामान भित्रिने प्रक्रिया थियो, तर यसपटक ४ वटा ४० फिटे कन्टेनरहरू साउथ एशिया रेल्वे प्रयोग गरी चीनबाट सिधै चोभार आइपुगेका छन्। यसमा कस्मेटिक, रोल कपडा, पर्दा र स्पिकरजस्ता सामग्री समावेश छन्, जसलाई नेपाली कम्पनीहरू पि.एन.पि. इन्टरप्राइजेज, अम्बर एण्ड सन्स, ओमकार इन्टरनेशनल र साहिम्स ट्रेडर्सले आयात गरेका हुन्।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार इयुबाट चोभारसम्मको यात्रा २० दिनमा सम्पन्न भएको हो। यो सफलताले भविष्यमा चीनसँगको आयात–निर्यात कारोबार थप सहज र तीव्र हुने अपेक्षा गरिएको छ।
सरकारले २०८१ कार्तिकमा राजपत्रमार्फत भन्सारको कानुनी ढोका खोलेपछि यस्तो व्यवस्थाले मूर्त रुप लिएको हो। गजुरेलका अनुसार अब निर्यातको पनि ढोका खुलेको छ — राजधानी र वरपरका उद्योगहरूले उत्पादन गरेका वस्तुहरू यही चोभार सुक्खा बन्दरगाहमार्फत भारत, चीन लगायत अन्य मुलुकमा पठाउन सक्नेछन्।
यो व्यवस्था नेपालको व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग पुर्याउने विश्वास गरिएको छ। राजधानीमै अन्तर्राष्ट्रिय व्यापारको सबै प्रक्रिया पूरा हुने वातावरण बनेपछि व्यापारीहरूमा उत्साह थपिएको छ।