११ वैशाख, बुटवल —कुनै दिन हिमाली हिउँमा रमाउने सपना बोकेर यात्रा थालेका थिए सुदीप न्यौपाने। बुटवल–११ कालीकानगरका २७ वर्षीय सुदीप आमा, बहिनी र ज्वाइँसहित भारतको जम्मु कश्मीरस्थित वैसरण उपत्यकातर्फ लागेका थिए — जहाँको प्राकृतिक सुन्दरताले उनलाई खिचेको थियो। तर, कश्मीरको हिउँ जस्तै चिसो बन्यो उनको जीवनको अन्तिम क्षण पनि, जब आतङ्कको निसाना बनिए।
मंगलबार दिउँसो एक्कासी भएको गोली प्रहारमा सुदीपको ज्यान गयो। घुमघामको रमाइलो क्षण एकाएक शोकमा परिणत भयो। उनीसँगै रहेकी आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्ले भागेर ज्यान जोगाउन सफल भए पनि रिमाकला सामान्य घाइते भएकी छन्।
शव बिहीबार बिहान बुटवल ल्याइएको छ भने अन्त्येष्टि आजै पश्चिम नवलपरासीस्थित त्रिवेणीमा गरिने भएको छ।
सुदीपको परिवार विछिन्न भएको थियो — आमाबुबाको सम्बन्ध विच्छेदपछि उनी आमा र बहिनीसँग बस्दै आएका थिए। बुबा ध्रुव न्यौपाने शिक्षण पेशामा आवद्ध छन् र हाल शिक्षक आन्दोलनको सिलसिलामा काठमाडौंमा थिए। उनले छोराको निधनको खबर बाटोमै थाहा पाए।
सुदीपको पुर्ख्यौली घर पाल्पाको बगनासकाली गाउँपालिका–४ मा पर्छ। परिवारको सपना थियो— बिदेसमा रमाइला क्षण बाँड्ने, रमाउने। तर त्यो सपना आतङ्कको चपेटामा पर्यो।
सुदीपको निधन सँगै नेपालमा मात्रै होइन, कश्मीरमा पनि थुप्रै निर्दोष ज्यानले आतंकको मूल्य चुकाइरहेका छन्। मंगलबारको हमलामा २६ जनाको ज्यान गएको छ, जसमध्ये दुई जना विदेशी पर्यटक थिए।