९ वैशाख, काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री भलनाथ खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो अभिव्यक्तिमाथि शंका व्यक्त गर्दै ती अभिव्यक्तिहरूको गम्भीर परीक्षण आवश्यक भएको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले प्रचण्डको हालको राजनीतिक र क्रान्तिकारी शैलीलाई ‘तातो कुर्सीको असर’ भन्दै व्यंग्य गरे। “अस्तिसम्म कांग्रेसको पिठ्युँमा बसेर कराइरहेका थिए प्रचण्ड, अहिले ओलीको पिठ्युँ तातो भएपछि उता सरेका छन्, बाहिर आएपछि फेरि क्रान्तिकारी कुरा गर्न थालेका छन्,” खनालले भने।
खनालको तर्क थियो – कुनै पनि नेताको अभिव्यक्ति केवल भाषणले होइन, व्यवहार र स्थितिको निरन्तरता हेरेर परीक्षण गर्नुपर्ने बेला आएको छ। “अवसरवाद पो हो कि भनेर ध्यान दिनुपर्छ,” उनले स्पष्ट पारे, “हाम्रो पार्टीले पनि एक–दुई मन्त्रालय पाउँदा सरकारमा गयो, तर के पायौं त? त्यो मूल्यांकन आजको दिनमा आवश्यक छ।”
खनालले सत्ता साझेदारीका लागि मूल विचार सिद्धान्त नै बेचेको जस्तो देखिने अभ्यासहरू राजनीतिक विश्वसनीयताको गहिरो संकट निम्त्याउने तर्फ इशारा गरे।