+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

एमालेविनाको नेपाल सम्भव छैन,अझै २० वर्ष अग्रसर छु मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन: प्रधानमन्त्री ओली

जनवाच
९ घण्टा अगाडी

काठमाडौँ, ९ वैशाख – प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य र उमेरका विषयमा उठिरहेका चर्चा र संशयलाई चिर्दै, पार्टी नेतृत्व र राष्ट्रिय राजनीति दुवैमा अझै लामो समय योगदान दिने दृढता व्यक्त गरेका छन्।

नेकपा (एमाले)को ७६ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा भने, “म अहिले बिरामी छैन, बुढो पनि भएको छैन। अबको २०–२५ वर्षपछि मात्र बुढो हुन्छु। मेरो उमेरको चिन्ता गरेर समय बर्बाद गर्नु पर्दैन।”

ओलीले एमाले अब अस्तित्वको लडाइँ होइन, विजयको यात्रा तय गरिरहेको दाबी गरे। “केपी ओली विनाको एमाले खोज्नेहरू सपना देख्न थालिसकेका छन्, तर त्यो सम्भव छैन,” भन्दै ओलीले पार्टीको आगामी मिसन ‘२०८४’ लाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण हुने मोडको रूपमा चित्रण गरे।

उहाँले भने, “हामी ‘मिसन २०८४’ का लागि तयारी गर्दैछौं, त्यसमा हामी अझ बलियो, अझ सक्षम भएर आउँछौं। देशको नेतृत्व एमालेले नै गर्नेछ।”

प्रधानमन्त्री ओलीले पछिल्लो समय संविधानविरोधी गतिविधि, राजतन्त्रको पुनः स्थापनाको चर्चा र लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउने प्रवृत्तिप्रति कडा आलोचना गरे।

उहाँले भने, “हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र आजको संविधानले सुनिश्चित गरेको हो। संवैधानिक राजतन्त्रको सपना देख्न थालेकाहरू २१औं शताब्दीमा जनतालाई फेरि हुकुमी शासन दिन खोज्दैछन्। तर हामी त्यो हुन दिनेछैनौं।”

प्रधानमन्त्री ओलीले आफ्नो थाइल्याण्ड भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानी सौहार्दपूर्ण र प्रभावकारी भएको जानकारी पनि सार्वजनिक गरे। साथै, उनले नेपाल सबै राष्ट्रहरूसँग मित्रता कायम राख्न इच्छुक रहेको र कुनै पनि देशसँग शत्रुता नरहेको प्रस्ट पारे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ