+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

भृकुटीमण्डपमा वैशाख २५ देखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला: ‘मेड इन नेपाल’ देखि विदेशी इभीसम्मको प्रदर्शन

जनवाच
६ घण्टा अगाडी

काठमाडौं, वैशाख ९ – नेपाली उत्पादनको विश्वसामु पहिचान बनाउने प्रयासस्वरूप नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०८२ को तयारी पूरा भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने मेलाले स्वदेशी उत्पादनको प्रवर्द्धनसँगै अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई नयाँ दिशा दिने लक्ष्य राखेको छ।

नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी), ललितपुर उद्योग वाणिज्य संघ तथा नेपाल हस्तकला महासंघको सह–आयोजनामा आयोजना हुने मेला वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र थाइल्याण्डबाट सहभागिता रहनेछ भने नेपालका विभिन्न क्षेत्रका उत्पादन र सेवाहरूको बृहत् प्रदर्शनी गरिनेछ। आयोजकका अनुसार २५० भन्दा बढी स्टलमार्फत वस्तु तथा सेवाहरूको प्रदर्शन गरिनेछ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मेलामा ‘मेड इन नेपाल’ पेभेलियन, वस्तुगत संघहरूको स्टल, हस्तकला, विद्युतीय सवारीसाधन (इभी), सूचना प्रविधि, पर्यटन, कृषि, ऊर्जा तथा भवन निर्माण सम्बन्धी प्रदर्शनी गरिने जानकारी दिए।

महासंघका अर्का उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न ठूलो योगदान दिने उल्लेख गरे। अनुमानित २० हजारभन्दा बढी दर्शक मेलामा आउने अपेक्षा गरिएको छ।

व्यापार मेला समितिका सभापति उमेश डाल्मियाका अनुसार, मेलाका अवसरमा विदेशी व्यापार प्रतिनिधिमण्डलसँग व्यापारिक संवाद, लगानीसम्बन्धी छलफल तथा द्विपक्षीय सहकार्यको पहल समेत गरिनेछ।

टीईपीसीका वरिष्ठ अधिकृत मीनबहादुर कुँवरले मेला नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणमा एक प्रभावकारी प्लेटफर्म बन्ने विश्वास व्यक्त गरे।

मेलामा जेष्ठ नागरिक र फरक क्षमता भएका नागरिकका लागि निःशुल्क प्रवेश, विद्यार्थीहरूका लागि प्रवेशपत्रका आधारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। साथै, देशभरका उत्कृष्ट मेलास्तल तथा उत्पादनलाई निःशुल्क स्टल प्रदान गरिने महासंघले जनाएको छ।

मुख्य प्रायोजकका रूपमा आइएमई पे र सहप्रायोजकका रूपमा हेरिटेज कार्पेट रहेको यो व्यापार मेला नेपाली उत्पादनको अन्तर्राष्ट्रियकरण र व्यापारिक साझेदारी विस्तार गर्ने महत्वपूर्ण मञ्च बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ