काठमाडौं, वैशाख ८ —विदेशमा सिप सिकेर फर्केका नेपालीहरूलाई अब आफ्नै देशमा अवसर सिर्जना गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन्। अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित एनआरएनएको सहकार्यमा सम्पन्न नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उनले विदेशी सिपलाई स्वदेशी विकासको इँटा बनाउनुपर्ने धारणा राखे। अध्यक्ष ढकालले दुबईले तेलमा निर्भरता घटाउँदै विविध क्षेत्रहरूको विकासमार्फत् आर्थिक रूपान्तरण गरेको दृष्टान्त प्रस्तुत गर्दै भने, “हामीले पनि पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि जस्ता सम्भावनायुक्त क्षेत्रको विविधीकरण गर्नुपर्छ।” उनका अनुसार ‘विकासका लागि दीर्घकालीन योजना र स्थिर नेतृत्व’ आवश्यक छ, जसको उदाहरण युएईले संसारलाई देखाएको छ। ढकालले नेपालमा विद्यमान सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र मौलिक कृषि प्रणालीलाई आर्थिक शक्तिमा बदल्ने अपार सम्भावना रहेको उल्लेख गरे। उनले भने, “यदि हामीले विदेशी लगानी आकर्षित गर्न सक्यौं भने स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसरहरू फस्टाउनेछन्।” विदेशमा आयोजना गरिने यस्ता महोत्सवहरूले नेपालको संस्कृति, पर्यटन र व्यापारलाई विश्वसामु चिनाउने माध्यम बन्ने ढकालको विश्वास छ। उनले यस्ता कार्यक्रमहरू सांस्कृतिक कूटनीति र अन्तरराष्ट्रिय मित्रता विस्तारका सेतु हुन् भने। ढकालले महासंघले अबुधाबीस्थित नेपाली राजदूतावास र दुबई चेम्बर अफ कमर्ससँग मिलेर “नेपाल–दुबई व्यवसायिक फोरम २०२३” आयोजना गरिसकेको स्मरण गर्दै उक्त फोरमले दुई देशबीचको व्यवसायिक सहकार्यको नयाँ आयाम खोलेको बताए। अध्यक्ष ढकालले विदेशमा पसिना बगाइरहेका नेपाली कामदारहरूको योगदानलाई निजी क्षेत्रले उच्च सम्मान गर्ने गरेको बताए। साथै, उनले महासंघ नेपाल र युएई दुवैका हितमा दिगो र लाभदायक साझेदारी निर्माण गर्न कटिबद्ध रहेको घोषणा गरे।