+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य

यूएईसँग स्वास्थ्य सहकार्यको सन्देश लिएर अबुधाबीमा मन्त्री पौडेल : नेपाली श्रमिकको सुरक्षामा जोड

जनवाच
१ दिन अगाडी

 काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल युएईको भ्रमणमा रहेका बेला अबुधाबीमा यूएईका स्वास्थ्य विभाग प्रमुख मन्सुर इब्राहिम अल मन्सुरीसँग भेट गर्दै दुई देशबीचको स्वास्थ्य क्षेत्रीय सहकार्यलाई बलियो बनाउने सन्देश दिएका छन्।

शिष्टाचार भेटका क्रममा मन्त्री पौडेलले युएईमा कार्यरत लाखौं नेपाली श्रमिकको स्वास्थ्य सुरक्षा नेपाल सरकारको प्राथमिकता भएको उल्लेख गर्दै, यस अभियानमा युएई सरकारको सक्रिय सहकार्य अपेक्षित रहेको बताए।

“प्रवासनमा जानुअघि र फर्किएपछि स्वास्थ्य जाँच, बीमा प्रणाली, र पूर्वसावधानीमूलक उपचार व्यवस्था हामीले थालेका छौँ,” मन्त्री पौडेलले भने, “तर कार्यान्वयनमा युएईको सहकार्यले मात्र यी प्रयासहरू प्रभावकारी बन्न सक्छन्।”

उनले नेपालको स्वास्थ्य प्रणालीलाई प्रविधिमैत्री बनाउने लक्ष्य, मिर्गौला डायलसिस केन्द्रको स्तरोन्नति, अंग प्रत्यारोपणको पूर्वाधार विस्तारलगायतका विषयमा पनि युएईसँग सहकार्यको प्रस्ताव राखेका छन्।

युएईका स्वास्थ्य विभाग प्रमुख मन्सुर इब्राहिमले नेपाली श्रमिकको लगनशीलता र योगदानको प्रशंसा गर्दै युएई नेपालसँगको सम्बन्धलाई स्वास्थ्य क्षेत्रमा थप प्रगाढ बनाउन इच्छुक रहेको बताए। उनले लगानी र प्रविधि सन्दर्भमा नेपालमा सम्भावना देखिएको बताउँदै, आवश्यक कानुनी र संस्थागत संरचना तयार भए युएई सरकार सघाउन तयार रहेको प्रतिबद्धता जनाए।

भेटमा अबुधाबीस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीको पनि उपस्थिति थियो।
मन्त्री पौडेल आइतबार युएईमा आयोजना हुने “नेपाल फेस्टिभल” मा प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्, जहाँ उनले स्वास्थ्य सेवा, पर्यटन र लगानीका सन्देशहरू प्रवासी नेपाली समुदायमा प्रवाह गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ