काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा खराब सुरुवातपछि पुनः लयमा फर्किएको मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराउँदै तेस्रो जित निकालेको छ। जितसँगै मुम्बईको प्लेअफ यात्रा अझै पनि सम्भव देखिएको छ। वान्खडे स्टेडियममा भएको खेलमा मुम्बईले १६४ रनको लक्ष्य १८.१ ओभरमै ६ विकेट गुमाएर पूरा गर्यो। यस जितसँगै मुम्बईले ७ खेलमा ६ अंक जोडेको छ र सातौँ स्थानमा उक्लिएको छ। मुम्बईको जितमा विल ज्याक्सले ३६ रन, रायन रिकेल्टनले ३१ रन, र रोहित शर्मा र सूर्यकुमार यादवले समान २६–२६ रन बनाए। विशेष गरी सूर्यकुमार र ज्याक्सबीचको ५२ रनको तेस्रो विकेट साझेदारी ले खेल मुम्बईतर्फ मोडिएको थियो। हैदराबादका लागि कप्तान प्याट कमिन्सले तीन विकेट लिँदै लय दिन खोजे पनि ब्याट्सम्यानहरूले जिम्मेवारीपूर्वक खेल्दै लक्ष्य सजिलै भेटे। टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनायो।उद्घाटन ब्याट्सम्यान अभिषेक शर्माले ४० रन बनाउँदा, क्लासनले ३७, हेडले २८, रेड्डीले १९ र अनिकेत वर्माले १८ रन अविजित रहे। अभिषेक र हेडले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरे पनि त्यसपछि मुम्बईका बलरहरूले खेल नियन्त्रणमा राख्न सफल भए। मुम्बईका लागि विल ज्याक्सले २ विकेट लिए भने ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र कप्तान हार्दिक पाण्ड्या ले एक–एक विकेट झारे। यो जितले मुम्बईको प्लेअफ सम्भावना जिवितै राखेको छ। यद्यपि बाँकी खेलहरूमा लगातार जीत आवश्यक पर्न सक्छ।हैदराबादका लागि भने चार अंकमै सीमित हुँदा अबको यात्रा अन्य टिमको नतिजामाथि भर पर्नेछ। शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सले ६ खेलमा १० अंक जोडिसकेको छ, जसले अन्य टोलीहरूलाई दबाबमा पारेको छ।